अक्सर सोधिने प्रश्नहरू

१. JFT-Basic बारे

प्रश्न १JFT-Basic भनेको कस्तो परीक्षा हो?
उत्तर
JFT-Basic जापानमा जीवनयापन गर्दा आवश्यक पर्ने जापानी भाषाको कुराकानी क्षमता मापन गर्ने परीक्षा हो। २०१९ अप्रिल महिनामा जापान फाउण्डेशनले यो परीक्षा सुरु गर्यो। यस परीक्षामा रोजगारीको लागि जापानमा आउने विदेशी नागरिकहरूलाई जापानमा जीवनयापन गर्दा कुराकानी गर्न आवश्यक हुने जापानी भाषाको क्षमता मापन गरी “जापानी भाषामा केही हदसम्म दैनिक कुराकानी गर्न र विनाकठिनाइ जीवनयापन गर्न सक्ने क्षमता” छ कि छैन भनेर निर्धारण गरिन्छ। जापानको बसोबास योग्यता “निर्दिष्ट प्राविधिक सीप (१)”-को आवेदनको लागि आवश्यक भएको जापानी भाषाको दक्षताको प्रमाणको लागि प्रयोग गर्न सकिन्छ।
प्रश्न २JFT-Basic-को परीक्षा कसरी लिइन्छ?
उत्तर
JFT-Basic-को परीक्षा कम्प्युटर आधारित परीक्षा (CBT: Computer Based Testing) विधि मार्फत लिइन्छ। हरेक देशको परीक्षा स्थलमा कम्प्युटरबाट प्रश्न सोधिने र उत्तर दिने गरिन्छ। परीक्षार्थीहरूले बुथमा बसेर कम्प्युटरको स्क्रिनमा देखाइने प्रश्न पढेर अनि हेडफोनबाट आउने आवाज सुनेर स्क्रिनमा जवाफ दिन्छन्।
प्रश्न ३JFT-Basic को आयोजक संस्था कुन हो?
उत्तर
जापान फाउण्डेशन हो।
प्रश्न ४कसले JFT-Basic को परीक्षा दिन सक्छन्?
उत्तर
आफ्नो मातृभाषा जापानी होइन भने जोसुकैले पनि परीक्षा दिन सक्छन्।
तर देश अनुसार परीक्षा दिन सक्ने योग्यता फरक हुनेहुनाले थप जानकारी प्रोमेट्रिक परीक्षाको लागि नाम लेखाउने वेबसाइट हेर्नुहोस्।
प्रश्न ५JFT-Basic कहिले र कहाँ सञ्चालन गरिनेछ?
उत्तर
प्रश्न ६बसोबास गर्ने देश बाहेकको अन्य देशमा JFT-Basic को परीक्षा जापानमा दिन सकिन्छ?
उत्तर
बसोबास गर्ने देश बाहेकको अन्य देशमा परीक्षाको लागि नाम लेखाउन सकिन्छ। तर परीक्षाको लागि निर्देशन, ध्यान दिनुपर्ने कुराहरू, सम्झौताजस्ता कुराहरू भने अङ्ग्रेजीमा व्याख्या गरिनेछ। यो बाहेक अरू भाषाको सुविधा हुनेछैन। साथै, देश अनुसार परीक्षा शुल्क भुक्तान गर्ने विधि फरक हुनसक्ने हुनाले कृपया ध्यान दिनुहोस्।
प्रश्न ७JFT-Basic को केही सेक्सनको परीक्षा मात्र दिन सकिन्छ?
उत्तर
अहँ, सकिन्न।
प्रश्न ८JFT-Basic परीक्षा फेरि दिन सकिन्छ ?
उत्तर
हजुर, सकिन्छ। तर, पहिला परीक्षा दिएको र दिने दिन को अन्तर ४५ दिन को हुनुपर्नेछ।
प्रश्न ९जापानी भाषा दक्षता परीक्षा (JLPT) भन्दा कसरी फरक छ?
उत्तर
जापानी भाषा दक्षता परीक्षा (JLPT) विविध पृष्ठभूमि भएका जापानी भाषा सिक्ने व्यक्तिहरूको भाषिक निपुणता मापन गर्न विभिन्न अवस्थालाई मध्यनजर गरेर लिइने समग्र परीक्षा हो। यसलाई N1 देखि N5 सम्म गरी जम्मा ५ तहमा बाँडिएको छ। JFT-Basic जापानमा जीवनयापन गर्दा सामना गर्ने विभिन्न अवस्थामा आवश्यक हुने जापानी भाषाको कुराकानी क्षमता मापन गर्ने परीक्षा हो। यसको तह एउटा मात्र छ। JLPTJFT-Basic को परीक्षा लिने तरिका पनि फरक-फरक हुन्छ। JLPT को परीक्षा मार्कसिट विधिमा लिइन्छ र जापान तथा अरू देशहरू(लगभग ८० वटा देशहरु र क्षेत्रमा) वर्षको दुई पटक तोकिएको परीक्षा दिनमा लिइन्छ। अर्कोतर्फ JFT-Basic परीक्षा भने CBT विधिमा जापान बाहिरका परदेशमा (एसियाली मूलकमा) वर्षको ६ पटक प्रत्येक देशको लागि तोकिएको समयावधिमा परीक्षा लिइन्छ। परीक्षाफलचाहिँ JLPT मा परीक्षा मितिदेखि लगभग २ महिनापछि अनलाइनमा पाउन सकिनेछ र लगभग ३ महिनापछि उत्तीर्ण भए/नभएको जानकारी दिन सूचना-पत्र पठाइनेछ। JFT-Basic मा परीक्षा दिने व्यक्तिको त्यही दिन नतिजा थाह पाउन सकिन्छ। परीक्षा मितिदेखि ५ व्यवसायी दिन (कार्यालय खुल्ने दिन) भित्र मूल्याङ्कन नतिजा सूचना-पत्र जारी गरिनेछ। जापानी भाषा दक्षता परीक्षा (JLPT)-को N4 वा सोभन्दा उच्च तहको प्रमाणपत्र पनि “निर्दिष्ट प्राविधिक सीप (१)”-को लागि आवेदन दिन प्रयोग गर्न सकिन्छ। तर JFT-Basic को राम्रो पक्ष के हो भने परीक्षा दिने मौका धेरै हुनुका साथै परीक्षा दिनेबित्तिकै नतिजा पनि थाहा पाउन सकिन्छ।

२. परीक्षाको विवरणबारे

प्रश्न १JFT-Basic मा एकभन्दा बढी श्रेणी छ?
उत्तर
JFT-Basic मा जापानी भाषा दक्षता परीक्षा (JLPT)-को जस्तो एकभन्दा बढी श्रेणीको परीक्षा छैन।
प्रश्न २JFT-Basic कस्तो श्रेणीको परीक्षा हो?
उत्तर
JFT-Basic “जापानी भाषामा केही हदसम्म दैनिक कुराकानी गर्न र विनाकठिनाइ जीवनयापन गर्न सक्ने क्षमता” हासिल गर्न मदत गर्ने मार्गदर्शक हो। यसले कुनै व्यक्तिले A2 श्रेणी जतिको निश्चित स्तरको जापानी भाषाको क्षमता हासिल गरेको छ वा छैन, निर्धारण गर्छ। विस्तृत जानकारीको लागि “भाषिक निपुणताका श्रेणीहरूको सारांश” हेर्नुहोस्।
प्रश्न ३JFT-Basic मा कस्तो प्रश्न सोधिन्छ?
उत्तर
JFT-Basic परीक्षा यी चार वटा भागमा बाँडिएको छ: “लिपि र शब्दभण्डार,” “कुराकानी र अभिव्यक्ति,” “श्रुतिबोध” (सुनेर बुझ्ने क्षमता) अनि “पठनबोध” (पढेर बुझ्ने क्षमता)। यसमा युरोपेली सामान्य भाषिक सन्दर्भ ढाँचाको (CEFR:Common European Framework of Reference for Languages: Learning, teaching, assessment, युरोपेली सामान्य भाषिक सन्दर्भ ढाँचा: सिक्ने, सिकाउने, मूल्याङ्कन गर्ने) र जापानी भाषा शिक्षाको JF मापदण्डको विचारमा आधारित भई A1 देखि A2 सम्मको Can-do बमोजिमका प्रश्नहरू सोधिने गरिन्छ। नमुना प्रश्नहरू पनि सार्वजनिक भएकोले जानकारीको लागि हेर्नुहोस्। पुनश्च, परीक्षाको तयारी गर्ने तरिकाबारे थाह पाउन “परीक्षाको तयारी कसरी गर्न सकिन्छ? कुनै शिक्षण सामग्री छ?” भन्ने प्रश्न-उत्तर हेर्नुहोस्।
प्रश्न ४JFT-Basic परीक्षामा कुराकानीको प्रश्न (मौखिक परीक्षा) वा लेख लेख्ने प्रश्न (लिखित परीक्षा) छ?
उत्तर
हाल यी दुइटै छैनन्।
प्रश्न ५JFT-Basicपरीक्षाको समयावधि कति हो?
उत्तर
६० मिनेट।

३. परीक्षा आवेदन बुकिङ्ग बारे

कृपया परीक्षण दिने कार्यको प्रक्रिया हेर्नुहोस्। परीक्षाको बुकिङ्ग सम्बन्धिका सम्पूर्ण प्रश्नहरू बारे प्रोमेट्रिक बुकिङ्ग वेबसाइटमा उल्लेख गरिएको प्रोमेट्रिक ग्राहक सेवा केन्द्रलाई सम्पर्क गर्नुहोस्।
प्रोमेट्रिक बुकिङ्ग वेबसाइटमा उल्लेख गरिएको FAQ पनि सम्पर्क गर्नुभन्दा अगाडि हेर्नुहोस्।जापान फाउण्डेशनको मुख्यालय र विदेश स्थित कार्यालयहरूले परीक्षा सम्बन्धि सेवाहरू प्रदान गर्दैनन् ।

४. परीक्षाको तयारीबारे

प्रश्न १परीक्षाको तयारी कसरी गर्न सकिन्छ? कुनै शिक्षण सामग्री छ?
उत्तर
JFT-Basic परीक्षाको तयारी गर्न मद्दत पुग्ने ई-लर्निङ सामग्रीहरू उपलब्ध अध्ययनको लागि सुझाव हेर्नुहोस्। JFT-Basic को उत्तर दिने तरिकाको कसरी समाधान गर्ने भन्ने अभ्यास गर्नका लागि नमूना प्रश्नहरू पनि उपलब्ध छन्।जापान फाउण्डेशनले आफ्नो मातृभाषा जापानी भाषा नभएका विदेशी नागरिकहरूलाई जापानमा जीवनयापन गर्दा आवश्यक पर्ने आधारभूत जापानी भाषाको कुराकानी क्षमतालाई Can-do Statement (कार्य प्रदर्शन क्षमता बुझाउने “- गर्न सक्छ” भन्ने भनाइ)-ले व्याख्या गरेको नयाँ “JF Can-do दैनिक जीवनको लागि जापानी भाषा” को २०१९ सालमा विकास गरेको छ। साथै यो “JF Can-do दैनिक जीवनको लागि जापानी भाषा” -लाई पढाइको लक्ष्य बनाइएको नयाँ जापानी भाषा शिक्षण सामग्री "Irodori जीवनयापनको जापानी भाषा" पनि वेबसाइटमा राखिएको छ। अडियो फाइल प्रयोग गरिएको सुनाइ र कुराकानीको अभ्यासका साथै वास्तविक लेख जस्ता सामग्रीहरू प्रयोग गरिएका पढाइको अभ्यास आदिबाट निश्चित रूपमा व्यावहारिक जापानी भाषा क्षमताको विकास गर्न सकिने हुनाले, यी सामग्रीहरू JFT-Basic परीक्षाको तयारीको लागि मात्र नभई, प्रारम्भिक तहको जापानी भाषा सिक्ने व्यक्तिहरूले पनि व्यापक रूपमा प्रयोग गर्न सक्छन्।
प्रश्न २बिगतमा जाँचमा सोधिएका प्रश्नहरूको संग्रह वा प्रश्नहरू प्रकाशन गरिन्छ ?
उत्तर
हालसम्म त्यसको योजना त छैन । सन्दर्भका लागि नमुना प्रश्न हेर्न सकिन्छ ।

५. परीक्षाको दिनबारे

प्रश्न १परीक्षाको दिन ल्याउनुपर्ने सामान, परीक्षा स्थल र रिसेप्सनदेखि परीक्षा समापनसम्मको प्रक्रियाबारे केही प्रश्न छ?
उत्तर
परीक्षा दिनको क्रमको विस्तृत जानकारीको लागि परीक्षाको दिनबारे “परीक्षा दिनको क्रम”मा हेर्नुहोस्। (ल्याउनुपर्ने सामान, परीक्षा स्थल, रिसेप्सनदेखि परीक्षा समापनसम्मको प्रक्रिया आदिबारे) केही प्रश्न छ भने प्रोमेट्रिक कम्पनीको बुकिङ्ग वेबसाइटमा हेर्नुहोस् वा प्रोमेट्रिक ग्राहक सेवा केन्द्रलाई सम्पर्क गर्नुहोस्।
प्रश्न २परीक्षा समय बाँकी भएमा एक चोटि जवाफ दिइसकेका उत्तरहरू फेरि जाँच्न सकिन्छ?
उत्तर
“लिपि र शब्दभण्डार,” “कुराकानी र अभिव्यक्ति,” “पठनबोध”-का (पढेर बुझ्ने क्षमता) भागहरूमा जवाफ दिइसकेको भए पनि अर्को भागमा नसरेको खण्डमा त्यस भागका उत्तरहरू जाँच्न र पुनः जवाफ दिन सकिन्छ। “श श्रुतिबोध”-को (सुनेर बुझ्ने क्षमता) भागमा एक चोटि अर्को प्रश्नमा सरेपछि पहिलाका प्रश्नहरूको पृष्ठमा फर्कन सकिँदैन।

प्राप्तअङ्क र परीक्षाफलको सूचनाबारे

प्रश्न १परीक्षाको नतिजा कसरी निर्धारण गरिन्छ?
उत्तर
परीक्षाको नतिजा कुल प्राप्ताङ्कका साथै त्यसमा आधारित मूल्याङ्कन नतिजाद्वारा निर्धारण गरिन्छ। कुल प्राप्ताङ्क १० अङ्कदेखि २५० अङ्कसम्ममा पर्छ। कुल प्राप्ताङ्क मूल्याङ्कन मापदण्ड अङ्क (२०० अङ्क) वा सोभन्दा बढी छ भने “जापानी भाषामा केही हदसम्म दैनिक कुराकानी गर्न र विनाकठिनाइ जीवनयापन गर्न सक्ने क्षमताको स्तरमा पुगेको छ” भनेर मूल्याङ्कन गरिन्छ। विस्तृत जानकारीको लागि “परीक्षाफलको सूचना” हेर्नुहोस्।
प्रश्न २प्रत्येक भागमा प्राप्त गर्नुपर्ने न्यूनतम अङ्क तोकिएको छ?
उत्तर
प्रत्येक भागमा प्राप्त गर्नुपर्ने न्यूनतम अङ्क तोकिएको छैन। चार भागलाई समग्र रूपमा मापन गरेर कुल प्राप्ताङ्क २०० अङ्क पुग्यो भने “जापानी भाषामा केही हदसम्म दैनिक कुराकानी गर्न र विनाकठिनाइ जीवनयापन गर्न सक्ने क्षमताको स्तरमा पुगेको छ” भनेर मूल्याङ्कन गरिन्छ।
प्रश्न ३परीक्षाको नतिजा कहिले थाह पाउन सकिन्छ?
उत्तर
परीक्षा दिएको दिनमै, परीक्षा समाप्त भएपछि परीक्षा दिएको कम्प्युटरको स्क्रिनमा परीक्षाको नतिजा (कुल प्राप्ताङ्क र मूल्याङ्कन नतिजा) देखाइनेछ। साथै परीक्षा मितिदेखि कार्यालय खुल्ने पाँच दिनभित्र, मूल्याङ्कन नतिजा सूचनाप्रत्र बुकिङ्ग वेबसाइट मा जारी गरिनेछ। बुकिङ्ग वेबसाइट मा लगइन गरेर पक्का गर्नुहोस्।
प्रश्न ४आधिकारिक नतिजा सूचनापत्र कसरी पठाइन्छ?
उत्तर
मूल्याङ्कन नतिजा सूचनापत्र परीक्षा मितिदेखि कार्यालय खुल्ने पाँच दिनभित्र बुकिङ्ग वेबसाइट मा प्रकाशित गरिनेछ। बुकिङ्ग वेबसाइटमा लगइन गरेर पक्का गर्नुहोस्। मूल्याङ्कन नतिजा सूचनापत्रको छापिएको प्रति चाहिन्छ भने वेबसाइटबाट आफैले प्रिन्ट गरेर प्रयोग गर्नुहोस्।
प्रश्न ५परीक्षाको नतिजा कसरी उपयोग गर्न सकिन्छ?
उत्तर
जापानको बसोबास योग्यता “निर्दिष्ट प्राविधिक सीप (१)”-को आवेदन दिन आवश्यक हुने जापानी भाषा क्षमताको प्रमाणीकरणको लागि प्रयोग गर्न सकिन्छ
प्रश्न ६निर्दिष्ट प्राविधिक सीप (१) बाहेकका भिसाहरू प्राप्त गर्न र जागिर खोज्न JFT-Basic प्रयोग गर्न सकिन्छ?
उत्तर
हाल निर्दिष्ट प्राविधिक सीप (१) बाहेकका भिसाहरू प्राप्त गर्न JFT-Basic प्रयोग गरिएको छैन। अन्य किसिमका भिसा प्राप्त गर्न आवश्यक पर्ने कागजात आदिबारे थाह पाउन जापानको परराष्ट्र मन्त्रालयको होमपेज हेर्नुहोस्। साथै कम्पनी र विद्यालय आदिमा आवेदन दिन JFT-Basic प्रयोग गर्न सकिन्छ कि सकिँदैन भनेर थाह पाउन सम्बन्धित कम्पनी र विद्यालयलाई सम्पर्क गरेर पक्का गर्नुहोस्।
प्रश्न ७परीक्षा नतिजाको म्याद सकिन्छ?
उत्तर
JFT-Basic परीक्षाको नतिजाको म्याद सकिँदैन।
बुकिङ वेबसाइटमा परीक्षा नतिजाको डाटा सेभ गरिने अवधि ५ वर्ष हो। यो अवधिमा बुकिङ वेबसाइटबाट मुल्याङकन नतिजा सूचना पत्र हेर्न सकिन्छ तर यो अवधि सकिएपछि मुल्याङकन नतिजा सूचना पत्र हेर्न सकिन्न। बुकिङ वेबसाइटबाट परीक्षा नतिजाको डाटा सेभ गरिने अवधि भित्र प्रिन्ट गरेर राख्नुहोस्।
प्रश्न ८"निर्णय नतिजाको सूचना" ठगी वा हेरफेर होइन भन्ने मैले कसरी पुष्टि गर्न सक्छु?
उत्तर
जापान फाउन्डेसनले उचित कारणहरूले परीक्षा नतिजाहरूको सूचनाको सामग्रीहरूको वैधानिकता सम्बन्धी जापान वा विदेशमा सरकारी निकाय, विश्वविद्यालय, शैक्षिक संस्था, कम्पनीहरू, आदिबाट सोधपुछको जवाफ दिनेछ।
कृपया वैधानिकता प्रमाणीकरण सम्बन्धी विस्तृत प्रक्रियाहरूको लागि जापान फाउन्डेसनमा सम्पर्क गर्नुहोस्।
सम्पर्क: जापान फाउन्डेसन जापानिज ल्याङ्ग्वेज डिभिजन 2
इमेल: jft-basic@jpf.go.jp
(इमेल पठाउँदा कृपया पूर्ण @ चिन्हलाई अर्ध @ चिन्हमा परिवर्तन गर्नुहोस्।)
  • ※कृपया जापानी वा अंग्रेजीमा लेख्नुहोस्। जापानी वा अंग्रेजी बाहेक अन्य भाषाहरू समर्थित छैनन्।
  • ※हामी फोनबाट प्रश्नहरुको जवाफ दिँदैनौं।

७. बसोबास योग्यता “निर्दिष्ट प्राविधिक सीप”-बारे

प्रश्न १बसोबास योग्यता “निर्दिष्ट प्राविधिक सीप” भनेको के हो?
उत्तर
“निर्दिष्ट प्राविधिक सीप” भनेको निश्चित दक्षता र सीप भएको विदेशी नागरिकलाई श्रमिकको रूपमा जापानमा बोलाउने उद्देश्यले स्थापना गरिएको बसोबास योग्यता हो र यसमा निर्दिष्ट प्राविधिक सीप (१) र निर्दिष्ट प्राविधिक सीप (२) गरी दुई किसिमका हुन्छन्।
विस्तृत जानकारीको लागि निम्न होमपेज हेर्नुहोस्।
प्रश्न २बसोबास योग्यता “निर्दिष्ट प्राविधिक सीप” सित JFT-Basic को कस्तो सम्बन्ध छ?
उत्तर
निर्दिष्ट प्राविधिक सीप (१) को योग्यता हासिल गर्न प्रत्येक क्षेत्र (१२ किसिमको उद्योग-को काममा दक्षता मापन गर्ने परीक्षा (प्राविधिक परीक्षा) अनि दैनिक जीवन तथा कामको लागि आवश्यक हुने जापानी भाषा क्षमता मापन गर्ने परीक्षा (जापानी भाषा परीक्षा) उत्तीर्ण भएको हुनुपर्छ। (प्राविधिक प्रशिक्षण (२)-को तालिम सफलतापूर्वक पपुरा गरेको व्यक्तिले दुइटै परीक्षाबाट छुट पाउँछ।) यस जापानी भाषा परीक्षाको लागि JFT-Basic प्रयोग गरिएको छ। साथै जापानी भाषा दक्षता परीक्षा N4 वा सोभन्दा माथिल्लो तह उत्तीर्ण भएको प्रमाण भएमा पनि निर्दिष्ट प्राविधिक सीप (१)-को लागि आवश्यक जापानी भाषा क्षमताको तह हासिल गरेको भन्ने स्वीकृति दिइनेछ
प्रश्न ३प्राविधिक परीक्षा पनि जापान फाउण्डेशनले लिन्छ?
उत्तर
प्राविधिक परीक्षाको लागि तोकिएको प्रत्येक क्षेत्र निरीक्षण गर्ने मन्त्रालय र त्यसअन्तर्गतका निकायले वा ती मन्त्रालय र त्यसअन्तर्गतका निकायले निर्दिष्ट गरेको आयोजक संस्थाले प्राविधिक परीक्षा लिइरहेका छन्। प्राविधिक परीक्षाको आयोजक संस्थाबारे जानकारी लिन न्याय मन्त्रालय अध्यागमन व्यवस्थापन निकायले तयार पारेको परीक्षा जानकारीको पोर्टलसाइट हेर्नुहोस्।
प्रश्न ४प्राविधिक परीक्षा कहिले र कहाँ लिइन्छ?
उत्तर
प्राविधिक परीक्षाको लागि तोकिएको प्रत्येक क्षेत्र निरीक्षण गर्ने मन्त्रालय र त्यसअन्तर्गतका निकायले वा ती मन्त्रालय र त्यसअन्तर्गतका निकायले निर्दिष्ट गरेको आयोजना संस्थाले प्राविधिक परीक्षा लिन्छ। प्राविधिक परीक्षाको योजनाबारे जानकारी लिन सम्बन्धित मन्त्रालय र त्यसअन्तर्गतका निकाय वा परीक्षा आयोजना संस्थाको वेबसाइट हेर्नुहोस्।
न्याय मन्त्रालयले बनाइरहेको परीक्षा जानकारी पोर्टल साइट यता छ ।
प्रश्न ५निर्दिष्ट प्राविधिक सीप प्रणालीमा कामदार स्वीकार गर्ने १२ वटा व्यावसायिक क्षेत्र छन्। काम गर्ने क्षेत्रअनुसार प्रयोग गरिने जापानी भाषा फरक हुन्छ जस्तो लाग्छ। JFT-Basic मा क्षेत्रअनुसार फरक परीक्षा लिइन्छ?
उत्तर
JFT-Basic “जापानी भाषामा केही हदसम्म दैनिक कुराकानी गर्न र विनाकठिनाइ जीवनयापन गर्न सक्ने क्षमता” हासिल गर्न मदत गर्ने मार्गदर्शक हो। यसले कुनै व्यक्तिले A2 श्रेणी जतिको निश्चित स्तरको जापानी भाषाको क्षमता हासिल गरेको छ वा छैन भनी निर्धारण गर्छ। त्यसैले यस परीक्षामा क्षेत्रअनुसार फरक परीक्षा लिइँदैन।
प्रश्न ६JFT-Basic र जापानी भाषा दक्षता परीक्षा (JLPT)-को N4 वा सोभन्दा उच्च श्रेणीबाहेक निर्दिष्ट प्राविधिक सीप (१)-को आवेदन दिन प्रयोग गर्न मिल्ने अरू जापानी भाषा परीक्षा छ?
उत्तर
हाल १२ वटा निर्दिष्ट व्यावसायिक क्षेत्रका विषयगत मन्त्रालयहरू तथा त्यसअन्तर्गतका कार्यालयहरूले निर्दिष्ट प्राविधिक सीप (१)-को आवेदन दिने उद्देश्यले प्रयोग गर्न सक्ने जापानी भाषा परीक्षाको रूपमा JFT-Basic र जापानी भाषा दक्षता परीक्षालाई (N4 वा सोभन्दा उच्च श्रेणी) मात्र निर्दिष्ट गरेका छन्।
Back to top